कक्षा ११ र १२ का दुई लाख विद्यार्थी खाडीमा


काठमाडौं, वैशाख ९ – कक्षा ११ र १२ मा भर्ना भएका धेरै विद्यार्थी पढ्दापढ्दै वैदेशिक रोजगारमा जाने गरेको शिक्षक र उच्च माध्यमिक शिक्षा परिषद्ले अनुमान लगाएका छन् । भर्ना, रजिस्ट्रेसन र परीक्षा फाराम भरेका विद्यार्थी संख्याका आधारमा उच्च शिक्षा अध्ययनरत करिब दुई लाख विद्यार्थी वार्षिक खाडी मुलुक गएको अनुमान लगाइएको हो ।
उच्च माध्यमिक शिक्षा परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालका अनुसार यस वर्ष कक्षा ११ र १२ को परीक्षामा सहभागी हुन साढे नौ लाख विद्यार्थी योग्य थिए । तर, साढे सात लाख विद्यार्थीले मात्र परीक्षा फाराम भरेको उनले जानकारी दिए ।
परीक्षा नियन्त्रक अर्यालले कक्षा ११ र १२ मा भर्ना भएका, तर परीक्षा फाराम नभरेकामध्ये अधिकांश विद्यार्थी कामका लागि विदेश जाने गरेको पाइएको बताए । ‘यकिन तथ्यांक त छैन, तर फाराम नभरेका अधिकांश विदेशमा जान्छन्, थोरैले मात्र अन्य कारणले परीक्षा छोड्छन्,’ अर्यालले नयाँ पत्रिकासँग भने, ‘विमानस्थलमा अनौपचारिक तरिकाले बुझ्दा पनि कक्षा ११ र १२ मा पढ्दापढ्दै विदेश हिँडेका भेटिन्छन् ।’
उच्च माध्यमिक विद्यालय शिक्षक संघका अध्यक्ष शिक्षक दीपक सुवेदीले पनि कक्षा ११ र १२ मा भर्ना भएका विद्यार्थी पढाइ छाडेर विदेश जाने गरेको बताए । सुवेदीले अध्यापन गर्ने ललितपुरस्थित प्रभात उमाविमा ११ मा भर्ना भएका एकतिहाइभन्दा बढी विद्यार्थीले परीक्षा फारम भरेका छैनन् । उनीहरू विदेश गएको विद्यालय प्रशासनको अनुमान छ भनेर आजको नयाँ पत्रिका दैनिकमा यो समचार छापिएको छ ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्