मलेसियास्थित दूतावास घर खोज्दै


क्वालालम्पुर, वैशाख ९ - यहाँस्थित नेपाली दूतावासको कार्यालयको घरभाडासम्बन्धी सम्झौता सकिन लागेकाले समस्या उत्पन्न भएको छ । भवनको व्यवस्थापनले सम्झौता नवीकरण नगर्ने जनाएकाले समस्या सिर्जना हुन लागेको हो । 'भाडा सम्झौता अप्रिल ३० मा सकिँदैछ,' दूतावास स्रोतले भन्यो, 'त्यस अवधिभित्रै जसरी भए पनि अहिलेको ठाउँबाट कार्यालय सारिसक्नुपर्ने बाध्यता छ ।'

यसअघि करिब ३५ हजार रिंगिट मासिक खर्च लाग्ने घरै पाइएको थियो । दूतावासको उक्त खर्चप्रस्ताव परराष्ट्र मन्त्रालयले नमानेपछि त्यसभन्दा कम खर्च लाग्ने घरको खोजी भइरहेको छ । ३ महिनादेखि सेवाग्राहीलाई पायक पर्ने स्थानमा दूतावास सार्न घर खोजी भइरहेको स्रोतले बतायो ।

हाल कार्यालय रहेको फ्ल्याटको भाडा मासिक १५ हजार रिंगिट छ । नेपाली सेवाग्राहीको बढो चाप र भीडभाडका कारण व्यवस्थापनले सम्झौता नवीकरण गर्न अस्वीकार गरेको हो । सहज सेवा दिन भन्दै दूतावासले मन्त्रालयसित आवश्यक रकम र थप ३ जना अस्थायी कर्मचारी माग गर्दै आएको छ । मन्त्रालयले घरभाडाका लागि मासिक २७ हजार रिंगिट -करिब नौ लाख रुपैयाँ) भाडास्वरूप उपलब्ध गराउन तयार भएको स्रोतले बतायो । दूतावासका लागि सरकारले वाषिर्क ३ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

मलेसियामा करिब ५ लाख नेपाली कार्यरत छन् । यो दूतावास अन्यत्रको तुलनामा धेरै राजस्व भित्र्याउनेमा पर्दछ । वाषिर्क ३२ करोड राजस्व संकलन हुने गरेको दूतावासले जनायो ।

दूतावासले मलेसियाको प्रशासनिक केन्द्र मानिने पुत्राजयामा जग्गा किनेको छ । त्यहाँ आफ्नै भवन बनाउने योजना भए पनि प्रक्रिया थालिएको छैन । १ दशमलश २९ हेक्टर क्षेत्रफलको उक्त जग्गा दूतावासले सन् २००७ मा ७ करोड रुपैयाँमा किनेको थियो । दूतावासका अनुसार हाल जग्गाको भाउ दोब्बर भएको छ ।

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्